Thursday, September 27, 2012

भनेको सुनेको

हालै नेपाल टेलिकमले नेपालमा इन्टरनेट चलाउनका लागि द्रुततर प्रविधिको विकास गरेको दावी गरेको छ। आफ्नो Facebook Page मा यस्तो जानकारी राखेको छ ।
वाइम्याक्स हालसम्मको उच्चगतिको इन्टरनेट प्रविधि हो।  यो प्रविधि सुरु गर्न काठमाडौंमा १५ वटा बिटिएस (टावर) लाई 'अन-एअर' (सञ्चालन) गरिसकेको छ। राजधानीमा ४७ वटा टावरमध्ये आइतबारसम्म ३५ वटा निर्माण गरिसकेको छ। 'दसैं-तिहारबीचमा परीक्षण पूरा गरेर व्यावसायिकरुपमा सञ्चालन गर्ने योजना छ,' टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले भनिन्। टेलिकमले सकेसम्म दसैंअघि नै सञ्चालन गर्ने तयारी गरेर महसुल दरसमेत प्रस्ताव गरेर स्वीकृतिका लागि दूरसञ्चार प्राधिकरणमा पठाएको छ। प्राधिकरणले प्रस्ताव गरेको महसुल अहिले भोलुमबेस (चलाएको आधार)मा मात्र छ। २५६ किलोबिट प्रतिसेकेण्ड स्पिडका लागि कम्तिमा ५ जिबी दिने प्रस्ताव टेलिकमको छ। त्यसको मूल्य ६ सय ५० रुपैयाँ प्र्रस्ताव गरिएको छ। यही स्पिडमा १० जिबीलाई एकहजार एकसय छ भने सबैभन्दा बढी ३० जिबीको दुईहजार पाँचसय रुपैयाँ प्रस्ताव गरिएको छ। 
५१२ केबिपिएस स्पिडका लागि कम्तिमा ८ जिबीको प्याकेज तयार गरेर प्राधिकरणमा स्विकृतीका लागि पठाएको छ। ८ जिबीको महसुल ८ सय ५० रुपैयाँ छ। यो स्पिडमा १२, २० र ३० जिबीको प्याकेज बनाइएको छ।  टेलिकमको भोलुमबेस एडिएसएलमा कम्तिमा १५ जिबीको प्याकेज छ। तीन महिनाभित्र प्रयोग गरिसक्नुपर्ने ५१२ केबिपिएस व्याण्डविथको मूल्य एकहजार ९ सय ८० रुपैयाँ पर्छ। वाइम्याक्स इन्टरनेटमा चौथो पुस्ताको प्रविधि हो। यो सेवा लिएपछि ग्राहकले कम्तीमा २५६ किलोबिट प्रतिसेकेन्डको स्पिडमा इन्टरनेट पाउँछन्। यो प्रविधिमा तार चाहिँदैन।  राजधानीमा ४७ वटै टावरको निर्माण पूरा भएपछि ड्राइभ टेस्ट गर्नुपर्छ। त्यसका लागि एक साता लाग्ने अनुमान टेलिकम अधिकारीहरुको छ। त्यसपछि बिलिङको परीक्षण पूरा गर्नुपर्छ। एसिया इन्फोसँग किन्न लागेको बिलिङ सफ्टवयर तयार हुन समय लाग्ने भएपछि टेलिकमले यो सेवा जतिसक्दो चाँडो सुरु गर्नेगरी पुरानै प्रविधिको बिलिङबाट काम चलाउने भएको छ।  'एडिएसएलमा अहिले प्रयोग भइरहेको आइबिएस बिलिङ सिस्टमबाटै वाइम्याक्सलाई चलाउँदैछौं,' वाइम्याक्सको परीक्षणमा संलग्न एक अधिकारीले भने। टेलिकमले गत फागुन पहिलो साता अमेरिकी कम्पनी एअरस्पान नेटवर्कसँग वाइम्याक्स प्रविधि किन्ने सम्झौता गरेको थियो।  एक करोड ६ लाख डलरमा गरिएको उक्त सम्झौतामा आउँदो माघभित्र देशका सबै गाउँ विकास समितिहरु र नगरपालिकामा सेवा पुर्याइसक्ने उल्लेख छ।  यो प्रोजेक्टअन्तर्गत काठमाडौंमा कोर नेटवर्क स्थापना गरेर पूर्वी नेपालमा दुई सयवटा टावर राख्ने तयारी भइरहेको छ। पश्चिमका लागि बुटवलमा कोर नेटवर्क राख्ने तयारी सुरु भइसकेको छ।  वाइम्याक्सबाट डेक्सटप, ल्पापटप, स्मार्टफोनमा एकैपटक धेरै प्रयोगकर्ताले इन्टरनेट चलाउन मिल्छ। प्राविधिकहरुका अनुसार एडिएसएलको मोडेमजस्तै वाइम्याक्सका लागि पनि कस्टमर प्रिमिसेस इक्युपमेन्ट (सिपिई) आवश्यक पर्छ।  नेपाली बजारमा उपलब्ध नभए पनि तीन प्रकारको सिपिई चलनमा छ। टावरभन्दा निकै टाढा इन्टरनेट चलाउन आउटडोर सिपिई चाहिन्छ। आउटडोर सिपिईले टावरबाट ५ देखि २० किलोमिटर टाढासम्म पनि इन्टरनेट चलाउन मिल्छ। यसलाई घर बाहिर भित्ता वा छतमा राख्नुपर्छ। सिपिईले टावरबाट फ्याँकिने सिग्नललाई तानेर इन्टरनेट चलाउन सजिलो बनाउँछ। 
घरभित्र राख्नेगरी 'इनडोर सिपिई' हुन्छ। टावरबाट चार किलोमिटरसम्म पनि यो सिपिईबाट इन्टरनेटलाई चलाउन सकिन्छ। यसलाई पावर दिएपछि एकैपटकमा तार वा वायरलेस बनाएर धेरैले इन्टरनेट चलाउन सक्छन्।  सानो कार्यालयका लागि इनडोर सिपिई उपयुक्त हुन्छ। घरमा एकैपटक डेक्सटप, ल्यापटप, स्मार्टफोन चलाउनेलाई यो सिपिई उपयुक्त हुन्छ।  ल्यापटप, डेक्सटप लगायत एउटामात्र कम्प्युटरमा इन्टरनेट चलाउन युएसबी हुन्छ। यसले टावरको एकदेखि डेढ किलोमिटरभित्र वाइम्याक्स इन्टरनेट चलाउन सकिन्छ। अग्ला भवन, पहाडले नरोकेमा युएसबीबाट दुई किलोमिटर टाढासम्म इन्टरनेट चलाउन मिल्छ। अहिले बजारमा सिपिई सजिलै किन्न पाइँदैन। नेपालमा सेवा सञ्चालन नभइसकेको हुँदा डिभाइस किन्न नपाइएको हो। बजारमा किन्न नपाइने भएकाले टेलिकमले बिक्रेतासँग मिलेर बन्डलिङमा सिपिई ग्राहकलाई दिँदैछ। 
'एडिएसएलमा कम्तिमा १९२ केबिपिएसजस्तै गरी वाइम्याक्समा २५६ केबिपिएस ब्यान्डविथ हुन्छ,' वाइम्याक्स परियोजनाका एक अधिकारीले भने। काठमाडौंमा उत्तरमा बुढानीलकण्ठदेखि दक्षिणमा फर्पिङ र पूर्वमा भक्तपुरदेखि पश्चिममा थानकोटसम्मै वाइम्याक्स चलाउन सकिनेगरी टावर जडान गरिएको छ।  वाइम्याक्सबाट ३० एमबिपिएससम्म इन्टरनेट चलाउन सकिन्छ। टेलिकमले गरेको परीक्षणमा ११ एमबिसम्म चलेको छ। 'महसुलको प्रस्ताव गरेर प्राधिकरणमा पठाइसकेका छौं,' टेलिकम प्रवक्ता प्रधानले भनिन्। परीक्षण पूरा भएर प्राधिकरणले स्वीकृति दिनेबित्तिकै ग्राहकलाई सेवा दिन सुरु गरिने टेलिकमका अधिकारीले बताएका छन्। काठमाडौंमा सेवा सुरु भएपछि एक वर्षभित्र देशका सबै गाविस र नगरपालिकामा वाइम्याक्स चलाइसक्ने योजनामा टेलिकम छ।
यति धेरै मिठा कुरा गरेपनि नेपालमा ग्रामिण क्षेत्रमा इन्टरनेट पहिले विस्तार गर्नुपर्छ भन्ने कुरा कसैले गरेन। तथापि NTC ले भनेजस्तै काम गर्यो भने यसको प्रशंसा पनि गर्न सकिन्छ, अन्यथा "जुन जोगी आएपनि कानै चिरिएका" भन्ने उखान नै चरितार्थ हुने त होलानी ।

Monday, January 30, 2012

ग्रामिण क्षेत्रमा इन्टरनेट

हातहातमा मोबाइल घर घरमा इन्टरनेट” संविधान सभाको निर्वाचन हुनु अगाडी बनेको अन्तरिम सरकारका संचार मन्त्रि कृष्ण बहादुर महराले घोषणा गरेको नारा हो यो । त्यो नारामा पछिल्ला संचार मन्त्रीहरुले अँझ अलंकार थपेर झनै आकर्षक नारा दिए “गाउँ गाउँमा ब्रोडब्यान्ड” । नेपालका अधिकांश ग्रामिण क्षेत्रका जनताहरु अँझै पनि इन्टरनेट बाट परिचित भएका छैनन् । धेरै जसो सेवा प्रदायकहरु सहरमै केन्द्रित छन् । सरकारी लगानीमा  संचालित नेपाल टेलिकम पनि इन्टरनेटका सबै प्रकार सहरमै केन्द्रित गर्नमा मग्न छ । ग्रामिण क्षेत्र जहाँ विद्युत सेवा छ अथवा सोलार उर्जाबाट कम्प्युटर संचालन गरिन्छ, त्यहाँ मुस्किलले CDMA Phone बाट Dial Up Connection बाट इन्टरनेट चलाउन सकिन्छ तर यो प्रविधि अत्यन्तै सुस्त छ । त्यसमा पनि ग्रामिण जनताले बहन गर्नै नसकिने गरि महँगो पनि छ । सहरमा केहि समय अगाडी चलाउने गरिएको Landline को Dial Up Connection अहिले ADSL ले विश्थापित गरिसकेको छ । किन्तु ग्रामिण जनताले यसको दर्शन गर्ने अवसर प्राप्त गरेका छैनन् । नेपाल टेलिकमले एकखाले सेवा सहरमा संचालन गर्दा अर्को खाले सेवा ग्रामिण क्षेत्रमा संचालन गर्नु पर्ने हो, तर जनता प्रति कहिल्यै उत्तरदायी नरहने NTC बाट यो सबको अपेक्षा गर्नु व्यर्थ हुन्छ । ठेक्का पट्टाको चक्कर बाट मुक्त हुन नै यसलाई धेरै समय लाग्ने देखिन्छ । 
इन्टरने कनेक्सन

आक्रामक रुपमा बजार विस्तार गरिरहेको Ncell पनि ग्रामिण क्षेत्रमा पुगिरहेको छ, तर यसको Mobile GPRS नेपालमै सबैभन्दा महँगो छ । तर गुणस्तर भने NTC GPRS भन्दा राम्रो छ । मोबाइल सिमको प्रयोग गरेर नेट चलाउंदा NCELL को यो सिम प्रयोग कर्ता नै कंगाल हुन सक्ने देखिन्छ ।

नेपाल टेलिकमको  CDMA मा नेट खोल्ने प्रक्रिया नै निकै झन्झटिलो छ । मैले काम गर्ने विद्यालयमा इन्टरनेट जोड्न एक हप्ता सदरमुकाम र गाउँ गर्नु परेको थियो । मेरा एकजना मित्र कृष्ण प्रकाश आर.सी. ले तिन महिना अगाडी आफ्नो CDMA सेटमा नेट जोड्न आवेदन दिनु भएको थियो, त्यो अहिले सम्म खुलेको छैन । मेरो Mobile GPRS सक्रिय गर्न ११३ रुपैयाँ तिरेको थिएँ र तिरेको १ हप्ता पछी मात्र सक्रिय भएको थियो । हाल NTC ले Activation शुल्क त हटाएको छ तर Activate गर्न छोडेछ । मैले मेरा एकजना मित्रको GPRS Active गर्न ४ महिना अगाडी नेपाल टेलिकम सुर्खेतमा फर्म भरेको थिएँ तर हालसम्म Activate भएको छैन । मैले पुनः त्यो फर्म भरें तर पनि खुलेन । नेपाल टेलिकम फगत कर्मचारीहरुको रासमा परिणत हुँदै गईरहेको छ । समस्याको बारेमा फोन गर्दा आफूलाई विशिस्ट मानव ठानेर फोन कर्तालाई नै हपार्ने  स्वभाव भएका कर्मचारीको बोलबाला यसमा रहेको पाइन्छ । यति हुँदा पनि नेपालमा संचार क्षेत्रले द्रुततर रूपमा विकास गरेको तथ्याङ्क आउन छाडेका छैनन् । गाउँ स्तरका राजनीतिक नेतृत्व यसमा किञ्चित मात्र पनि सरोकार राख्न चाहँदैन । उनिहरू ठेक्का पट्टाबाट नै फुर्सद पाउँदैनन् तर यूवाहरूको यसप्रतिको रूचि चाहीँ केहि सकारात्मक छ, आशा गरौँ  केहि समयमा गाउँ गाउँमा इन्टरनेट पुग्छ कि !