Monday, January 30, 2012

ग्रामिण क्षेत्रमा इन्टरनेट

हातहातमा मोबाइल घर घरमा इन्टरनेट” संविधान सभाको निर्वाचन हुनु अगाडी बनेको अन्तरिम सरकारका संचार मन्त्रि कृष्ण बहादुर महराले घोषणा गरेको नारा हो यो । त्यो नारामा पछिल्ला संचार मन्त्रीहरुले अँझ अलंकार थपेर झनै आकर्षक नारा दिए “गाउँ गाउँमा ब्रोडब्यान्ड” । नेपालका अधिकांश ग्रामिण क्षेत्रका जनताहरु अँझै पनि इन्टरनेट बाट परिचित भएका छैनन् । धेरै जसो सेवा प्रदायकहरु सहरमै केन्द्रित छन् । सरकारी लगानीमा  संचालित नेपाल टेलिकम पनि इन्टरनेटका सबै प्रकार सहरमै केन्द्रित गर्नमा मग्न छ । ग्रामिण क्षेत्र जहाँ विद्युत सेवा छ अथवा सोलार उर्जाबाट कम्प्युटर संचालन गरिन्छ, त्यहाँ मुस्किलले CDMA Phone बाट Dial Up Connection बाट इन्टरनेट चलाउन सकिन्छ तर यो प्रविधि अत्यन्तै सुस्त छ । त्यसमा पनि ग्रामिण जनताले बहन गर्नै नसकिने गरि महँगो पनि छ । सहरमा केहि समय अगाडी चलाउने गरिएको Landline को Dial Up Connection अहिले ADSL ले विश्थापित गरिसकेको छ । किन्तु ग्रामिण जनताले यसको दर्शन गर्ने अवसर प्राप्त गरेका छैनन् । नेपाल टेलिकमले एकखाले सेवा सहरमा संचालन गर्दा अर्को खाले सेवा ग्रामिण क्षेत्रमा संचालन गर्नु पर्ने हो, तर जनता प्रति कहिल्यै उत्तरदायी नरहने NTC बाट यो सबको अपेक्षा गर्नु व्यर्थ हुन्छ । ठेक्का पट्टाको चक्कर बाट मुक्त हुन नै यसलाई धेरै समय लाग्ने देखिन्छ । 
इन्टरने कनेक्सन

आक्रामक रुपमा बजार विस्तार गरिरहेको Ncell पनि ग्रामिण क्षेत्रमा पुगिरहेको छ, तर यसको Mobile GPRS नेपालमै सबैभन्दा महँगो छ । तर गुणस्तर भने NTC GPRS भन्दा राम्रो छ । मोबाइल सिमको प्रयोग गरेर नेट चलाउंदा NCELL को यो सिम प्रयोग कर्ता नै कंगाल हुन सक्ने देखिन्छ ।

नेपाल टेलिकमको  CDMA मा नेट खोल्ने प्रक्रिया नै निकै झन्झटिलो छ । मैले काम गर्ने विद्यालयमा इन्टरनेट जोड्न एक हप्ता सदरमुकाम र गाउँ गर्नु परेको थियो । मेरा एकजना मित्र कृष्ण प्रकाश आर.सी. ले तिन महिना अगाडी आफ्नो CDMA सेटमा नेट जोड्न आवेदन दिनु भएको थियो, त्यो अहिले सम्म खुलेको छैन । मेरो Mobile GPRS सक्रिय गर्न ११३ रुपैयाँ तिरेको थिएँ र तिरेको १ हप्ता पछी मात्र सक्रिय भएको थियो । हाल NTC ले Activation शुल्क त हटाएको छ तर Activate गर्न छोडेछ । मैले मेरा एकजना मित्रको GPRS Active गर्न ४ महिना अगाडी नेपाल टेलिकम सुर्खेतमा फर्म भरेको थिएँ तर हालसम्म Activate भएको छैन । मैले पुनः त्यो फर्म भरें तर पनि खुलेन । नेपाल टेलिकम फगत कर्मचारीहरुको रासमा परिणत हुँदै गईरहेको छ । समस्याको बारेमा फोन गर्दा आफूलाई विशिस्ट मानव ठानेर फोन कर्तालाई नै हपार्ने  स्वभाव भएका कर्मचारीको बोलबाला यसमा रहेको पाइन्छ । यति हुँदा पनि नेपालमा संचार क्षेत्रले द्रुततर रूपमा विकास गरेको तथ्याङ्क आउन छाडेका छैनन् । गाउँ स्तरका राजनीतिक नेतृत्व यसमा किञ्चित मात्र पनि सरोकार राख्न चाहँदैन । उनिहरू ठेक्का पट्टाबाट नै फुर्सद पाउँदैनन् तर यूवाहरूको यसप्रतिको रूचि चाहीँ केहि सकारात्मक छ, आशा गरौँ  केहि समयमा गाउँ गाउँमा इन्टरनेट पुग्छ कि !